भ्रष्टाचारको विरोधमा उत्रिए सञ्जेल : सरुवाका बहुपक्षिय कारण(भिडियोसहित)

  • प्रकाशित मितिः पुष, 10, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / गत कात्तिक १४ गते सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका चार उद्योगको अनुगमनमा निस्किएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेल निक्कै उत्साहित देखिन्थे ।

उनीसँगै ट्रेड यूनियनका प्रतिनिधि र पत्रकारको टोलि समेतसँगै थियो । मजदुरले न्यूनतम पारिश्रमिक नपाएको गुनासो विभागिय कार्यालयसँग गरेपछि सन्जेल नेतृत्वको टोलिले अनुगमन गर्ने र कागजातको अध्ययन गर्ने अभियान अगाडी बढाएको थियो ।

अनुगमनका क्रममा उद्योगी एवं सांसद समेत रहेका मोती दुगड, उद्योगी बासुदेव गोल्यान, नवलकिशोर काबरा र आरती स्ट्रिप्स भित्र पुगेर मजदुर र प्रशासनसँग कुरा बुझ्ने काम भएको थियो ।

दुगड स्पाइसेस, ट्राइकर्ट इण्डष्ट्रिज, क्वालिटी नुडल्स प्रा.लि. र आरती स्ट्रिप्स प्रा.लि. मा श्रम ऐन कार्यान्वयनमा उनी प्रतिवद्ध थिए ।

औद्योगिक प्रतिष्ठान भित्रका मजदुरको न्यूनतम पारिश्रमिक नपाउने समस्यामा धेरै कारणमध्ये मजदुर नेताहरु समेत मानिन्छन् । वास्तविक मजदुरले श्रम गर्छ, पारिश्रमिक पाउने बेलामा नेताको नाममा उसैको तलवबाट भुक्तानी गरिन्छ र रकम कटाउने चलन उद्योगीहरुले बसाएका छन् । मजदुरको पारिश्रमिक १९२ रुपैँया हुँदा कमला रोलिङ एण्ड आइरन उद्योगमा मजदुरलाई १ सय ९० मा हस्ताक्षर गराएर १ सय ६० मात्रै भुक्तानी दिइएको घटना समेत भईसकेका छन् ।

धेरै नेतालाई धेरै तिर रकम बाँड्नु पर्ने बाध्यतामा कुनै महिना कुनै दलसम्वद्ध एक नेता छुटेमा मजदुरलाई समाएर श्रम कार्यालयमा उजुरी गर्न पु¥याउँछ । मजदुरले–मैले पारिश्रमिक पाइन भनेर गुनासो गरेपछि ‘बार्गेनिङ’ सहितको कारवाही सुरु हुने प्रचलन श्रम कार्यालयमा समेत थियो ।

तर, श्रम तथा रोजगार कार्यालयको प्रमुख हुनु अगावैदेखि भ्रष्टचारमा नगर्ने मात्रै हैन । कार्यालयको काममा हुने ढिलासुस्तीमा समेत ध्यान दिने प्रमुखले मजदुरका गुनासा सहजै हल गर्न बिना बार्गेनिङ कारवाही थाल्ने कुरामा दुईमत थिएन ।

अनुगमनकै दिनको समय चलिरहेको बखत एकजना मजदुर नेताले भने–यो तीन महिना टिक्दैन, कुरा नबुझ्नेलाई अडिन दिदैनौं । त्यो आवाजपछि सन्जेलको पक्षमा वकालत सुरु भयो ।

बीचैमा फेरी मजदुर नेताले भने–केहि भएन भने उसको टेवल भित्रको घर्रामा राती एकलाख हालिदिने, भोलिपल्ट अख्तियारलाई बोलाएर पक्राउने ! त्यो उपाय पुष्टिमा अपनाउनु पर्ने विधी बारेमा चर्चासँगै सन्जेललाई फसाउने विषयका कुरा सकिए । तत्काल त्यहि कार्यालयका अर्का कर्मचारी मणिनाथ गोपको क्षेत्राधिकार बारे बहस भए । उनले उद्योगका बोइलर हेर्ने हुन्, त्यसैमा खेलामेला गर्छन् । त्यो भनेपछि गोपमार्फत मजदुरका समस्या मालिकसँग सेटिङमा मजदुरका नेता थिए भन्ने पुष्टि सहजै भयो ।

तीनै सन्जेल चालुमहिनाको पुस २५ गते कार्यालयको प्रमुखको जिम्मेवारीमा आएको तीन महिना नपुग्दै जिम्मेवारीबाट हट्नुपर्ने प्रत्र प्राप्त भयो । यसको चर्चा जताततै छ तर भित्री कुरा भने गम्भीर छ ।

उद्योगका सञ्चालक उद्योगीहरुले सधैं जस्तो हुने अनुगमनपछि मजदुरका नेतामार्फत कार्यालयका प्रमुखलाई समाउँथे । पीडित भनिएका मजदुरलाई केहि रकमसहित काममा फर्काउने वा क्षतिपूर्ति वापतको रकम भराउँथे । त्यसपछि कार्यालय प्रमुखसहित मजदुरका नेताहरुलाई रकम उपलब्ध गराएर केश हुन्थ्यो ढिसमिस ।

यो अनुगमनपछि सम्बन्धित उद्योगका प्रतिनिधिले सन्जेललाई समाउन नेताहरुलाई भनेका थिए । तर, सन्जेल समाउन नसक्ने व्यक्ति थिए । उद्योगका प्रतिनिधि समेत उनीसम्म पुगे तर सन्जेलको पछाडी टाँसिएको थियो–भ्रष्टचार गर्दिन, गर्न पनि दिन्न र घुस खुवाउन आउनु भएको भए उल्टै थुनिदिन्छु ।

सुशासनको नाम भित्र कुशासनको प्रचलन चलेको देशमा सन्जेलका कुरा ‘मानसिक रोगी’ को जस्तो लाग्छ । तर, उनी यस्ता पात्र थिए, जसले राज्यको एक रुपैँया भएपनि अनावश्यक खर्चनु हुन्न भन्ने मान्यता राख्थे र कसैले अवैध रुपमा आर्जन गर्छ भनेपछि घृणाको पात्र बनाउँथे ।

श्रम तथा रोजगार कार्यालयमा आएसँगै सन्जेलकै पहलमा नक्कली उर्जा कम्पनिका ठग, कृषि कम्पनिका ठग, वैदेशिक रोजगारका ठगदेखि मजदुरको पारिश्रमिक दिन आनाकानी गर्ने उद्योगीलाई कारवाहीमा कडाई भएको थियो । त्यसले श्रम कार्यालयमा रहेका अन्य कर्मचारीलाई हैरानी थियो । मजदुरका नाममा राजनीति गर्ने नेताहरुको बिजोग भईसकेको लाग्थ्यो । सन्जेलकै भाषामा भन्ने हो भने ताननिय माननियको उद्योगमा श्रम ऐन कार्यान्वयन गर्नुपर्ने दवावले धेरैलाई तनाव दिईरहेको थियो ।

आन्तरिक कारण
श्रम तथा रोजगार कार्यालयमा प्रमुख भएर सन्जेल आउनु भन्दा अगाडीसम्म निमित्त प्रमुखको रुपमा कारखान निरीक्षक मणिनाथ गोप नै प्रमुख थिए । भवनको तल्लो तलामा अफिस र माथिल्लो तलामा गोपको क्वाटर थियो । सन्जेल आएपछि गोपले क्वाटर छोड्नु प¥यो । सन्जेलले आफ्नो कार्यालय त्यहाँ स्थापना गरे ।
त्यो भन्दा महत्वपूर्ण विषय के थियो ? चालु आर्थिक वर्षका लागि गाडी मर्मतको नाममा आएको ८० हजार रुपँैया रकम खर्च भईसकेको थियो तर गाडीको अवस्था जस्ताको त्यस्तै थियो । सन्जेल असोज २५ गते हाजिर भएका थिए । गाडीको अवस्था दयनिय थियो । आएको बजेटबाट मर्मत गर्ने ईच्छा राख्दा खर्च भईसकेको देखियो ।

कार्यालयका सूचना प्रकाशित गर्न प्रचार–प्रसारको नाममा आएको बजेट समेत एजेन्सीको नामबाट भुक्तानि भईसकेको थियो । तर, सूचना भने प्रकाशित भएको थिएन । यी यावत कारणबीच सन्जेल र गोपबीचको टकराव यति बिघ्न उचाईमा पुग्यो । त्यसको व्यवस्थापनका लागि सन्जेललाई ‘नाकाम’ बनाउँदै सीप परीक्षण केन्द्रमा पठाएर कार्यालयमा गोप राज्य स्थापित गर्ने मनसाय राखियो ।

कारणमध्ये माथिका सबै सहायक नै हुन् । प्रमुख र चाखलाग्दो कारण फरक छ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गर्ने जिम्मेवार कार्यालयको रुपमा श्रम तथा रोजगार कार्यालय भित्रै शाखा स्थापना गरिदैछ । त्यो शाखा स्थापनाका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागि मन्त्रालयबाट बजेट आएको छैन । सन्जेलले उधारो खरिद सुरु गरेका थिए ।

कार्यालय सञ्चालनमा आएसँगै वैदेशिक रोजगारीमा जानेहरुको अनलाइन फारम भर्ने दलालहरुको भीड बढ्छ । त्यस बखत सन्जेल नै कार्यालय प्रमुख रहे दलालहरु हावी हुन पाउने छैनन् । त्यो कुराले निमित्त प्रमुख भएका गोपलाई पोलिरहेको थियो । त्यसले पनि फरक जाल झेल र तिकडमको खेलको षड्यन्त्रमा सन्जेल परे ।

यो पनि-प्रधानमन्त्रीलाई चुनौती : भ्रष्टाचार गर्दिनँ भन्दा, मेरो ज्यान जान्छ भने म दिन तयार छु



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved